काठमाडौं । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक व्यापार अत्यन्तै न्यून देखिएको छ।
भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ४६ लाख ५ हजार रुपैयाँ बराबरको मात्र आयात भएको छ भने निर्यात शून्य छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने कुनै पनि वैदेशिक व्यापार नभएको तथ्यांकले देखाएको छ।
यस अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ, जहाँ १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात र २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
समग्रमा ९ महिनामा कुल आयात १४ खर्ब ९० अर्ब र निर्यात २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। वीरगञ्ज भन्सार बिन्दुबाट मात्रै कुल आयातको ४६.५७ प्रतिशत र निर्यातको ३५.६९ प्रतिशत व्यापार भएको विभागले जनाएको छ।


