सबै सुरक्षित भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मा आइतबार बिहान अवतरणपछि गुडिरहेको विमानबाट एक यात्रुले आपत्कालीन ढोका खोलेर बाहिर हामफालेपछि त्रास फैलिएको छ।
एयर अरेबिया को शारजाह–चेन्नई उडानमा सवार २३१ यात्रुमध्ये ३४ वर्षीय एक पुरुषले यस्तो हर्कत गरेका हुन्। विमान ट्याक्सी गरिरहेको बेला उनले ढोका खोलेर हामफालेपछि पाइलटले तुरुन्तै ‘इमर्जेन्सी ब्रेक’ लगाएका थिए।
प्रारम्भिक जानकारी अनुसार ती यात्रुको स्वास्थ्य अवस्था खराब रहेको र छटपटीका कारण यस्तो कदम चालेको अनुमान गरिएको छ। सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन्।
घटनापछि विमानस्थलको उडान केही समय प्रभावित भए पनि अन्य सबै यात्रु सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।


