जनकपुरधाम । जनकपुरधामस्थित एक निजी अस्पतालमा शल्यक्रियापछि बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। महोत्तरीकी ३६ वर्षीया रागनीदेवी पासवानको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी उनको उपचारपछि शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्युको खबरसँगै आफन्तले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा तोडफोड गरेका छन्, जसबाट भवनमा क्षति पुगेको छ।
परिवारका अनुसार सहमतिअनुसार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने भनिए पनि पेट चिरेर अपरेशन गरिएको दाबी गरिएको छ। उनीहरूले चिकित्सक र अस्पतालमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
अर्कोतर्फ, शल्यक्रियामा संलग्न चिकित्सकले भने बिरामी र परिवारको सहमतिमै उपचार गरिएको र कुनै लापरबाही नभएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।


