काठमाडौं, वैशाख १५ – सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमा २२ वर्षीय श्रीकृष्ण विक मृत भेटिएको घटनामा गृह मन्त्रालयले डीआईजी दिनेश आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
बलात्कार आरोपमा पक्राउ परेका विक वैशाख ७ गते हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए र अस्पताल पुर्याएपछि मृत घोषित गरिएको थियो। परिवार र दलित अधिकारकर्मीहरूले घटनालाई शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


