काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले नयाँ धरपकड अभियान नभई राजनीतिक प्रभावका कारण रोकिएका पुराना अनुसन्धान फाइल मात्रै अघि बढाएको स्पष्ट पारेका छन्। उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले इमानदार व्यवसायीलाई त्रसित हुनुपर्ने अवस्था नरहेको बताए।
उनका अनुसार विगतमा तामेलीमा राखिएका अनुसन्धानहरूलाई अहिले सुशासनको नीतिअनुसार अघि बढाइएको हो। तर व्यवसायको आवरणमा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरू भने कारबाहीबाट उम्किन नसक्ने उनले चेतावनी दिए।
यस्तै, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले आगामी बजेटलाई आर्थिक सुधारको सुरुवात बिन्दु बनाउन सरकारलाई आग्रह गरे। उनले निजी क्षेत्रले अब अर्थतन्त्र सुधारको नेतृत्व लिनुपर्ने र स्वदेशी लगानीबाट ठूला आयोजना सम्भव रहेको धारणा राखे।


