काठमाडौं । महोत्तरीको बर्दिबासमा भएको सरोज थापाको हत्या प्रकरणमा उनकी श्रीमती, सासू र सालीहरू संलग्न रहेको आरोपमा प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ।
२०७६ सालमा स्कुटर दुर्घटनाजस्तो देखिएको घटनामा सरोजको मृत्यु भएको थियो। तर पछि गरिएको अनुसन्धानमा यो दुर्घटना नभई योजनाबद्ध हत्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो।
प्रहरीका अनुसार श्रीमती पूजाले वैवाहिक विवाद र पारिवारिक तनावका कारण श्रीमान् हत्या गर्ने योजना बनाएको र सासू तथा सालीहरूको सहयोगमा ५ लाख रुपैयाँ सुपारी दिएर घटना गराइएको खुलेको छ।
घटनापछि संलग्न केही भारततर्फ फरार भएका थिए। लामो अनुसन्धानपछि प्रहरीले पूजासहित दुई सालीलाई पक्राउ गरेको छ भने अन्य अझै फरार रहेका छन्।
यसअघि पक्राउ परेका केही अभियुक्त जेलबाट भागिसकेको समेत प्रहरीले जनाएको छ।


