साउदी अरबको दमामस्थित मुस्तफा अलि अतिफा कम्पनीमा कार्यरत ५३ नेपाली श्रमिक दुई महिनादेखि कामविहीन र तलब नपाई क्याम्पमै अलपत्र परेका छन्।
कम्पनीले उनीहरूको ‘एक्जिट भिसा’ प्रक्रिया सुरु गरे पनि टिकट नदिँदा स्वदेश फर्कन सकेका छैनन्। केही श्रमिकको तलब तीन महिनादेखि रोकिएको छ भने खाना समेत बन्द गरिएको उनीहरूको गुनासो छ।
रियादस्थित नेपाली दूतावासले ३४ जनालाई फिर्ता पठाउने अनुमति मिलिसकेको र बाँकीलाई पनि फर्काउने प्रयास भइरहेको जनाएको छ। तर कम्पनीको आन्तरिक विवाद र ढिलाइका कारण समस्या समाधान हुन सकेको छैन। श्रमिकहरूले तत्काल नेपाल फर्काइदिन माग गरेका छन्।


