काठमाडौं — बैंककस्थित नेपाली दूतावास ले कम्बोडियाबाट थप ८ नेपालीको उद्धार गरेको छ। यससँगै पछिल्लो तीन सातामा उद्धार गरिएका नेपालीको संख्या १३१ पुगेको छ।
दूतावासका अनुसार अधिकांश नेपाली बिनाभिसा बसिरहेका थिए र एजेन्टको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। उनीहरूलाई अनलाइन ठगी, क्यासिनो लगायत गैरकानुनी काममा लगाइएको थियो।
गैरआवासीय नेपाली संघ र स्थानीय निकायको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ। अझै धेरै नेपाली अलपत्र रहेको र उद्धार जारी रहेको छ।
पछिल्ला वर्षमा भिजिट भिसामा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। दूतावासले श्रम स्वीकृति बिना वैदेशिक रोजगारीमा नजान र प्रलोभनमा नपर्न आग्रह गरेको छ।


