काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा वारेस (प्रतिनिधि) राख्ने सम्बन्धी निवेदन सर्वोच्च अदालतमा पेसीमा चढेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा आज उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो। शाहले प्रधानमन्त्री बनेपछि वारेस राख्ने अनुमति माग गर्दै निवेदन दिएका थिए।
उक्त मुद्दा २०८० असार ८ मा अधिवक्ता वर्षाकुमारी झाले दायर गरेकी थिइन्। हिन्दी फिल्मसम्बन्धी अदालतको आदेशपछि शाहले दिएको विवादास्पद अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गरिएको छ।
यसअघि सर्वोच्चले स्वयं उपस्थित हुन आदेश दिएकोमा शाह आफैं अदालत उपस्थित भएका थिए। अब वारेस अनुमति दिने वा नदिने विषयमा अदालतले निर्णय गर्नेछ।


