काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न नसकेको क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला र निर्वाचन क्षेत्रअनुसार जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उक्त निर्णय कार्यान्वयनमा ल्याइँदैछ।
रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सीट जितेको थियो भने समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको छ। पार्टीले प्रत्यक्षतर्फ कमजोर रहेका क्षेत्रमा संगठन सुदृढ गर्न र जनसम्पर्क बढाउन समानुपातिक सांसदलाई परिचालन गर्ने रणनीति लिएको जनाएको छ।

