सिन्धुलीको हिरासतमा २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरीले ५ सदस्यीय समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले डीआईजी दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति बनाएका हुन्। समितिमा चार अन्य प्रहरी अधिकारी सदस्य छन्।
जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका विक गत वैशाख ७ गते शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए र उपचारका क्रममा उनको मृत्यु भएको थियो। घटनालाई शंकास्पद भन्दै विरोध भएपछि समिति गठन गरिएको हो।
समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ भने त्यसपछि पीडित पक्षले सुरु गरेको आन्दोलन स्थगित गरिएको छ।


