काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि कडा छनोट मापदण्ड तय गरेको छ। मिटरब्याज, सट्टेबाजी, हुन्डी, सहकारी ठगीलगायत अवैध आर्थिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
पार्टीले तयार पारेको मस्यौदाअनुसार उम्मेदवार बन्न “क्यान्डिडेट क्लब” र “लिडरसिप एकेडेमी” उत्तीर्ण हुनुपर्नेछ। साथै २१ वर्ष उमेर पूरा, सम्बन्धित स्थानीय तहको मतदाता सूचीमा नाम, अन्य दलको सदस्यता त्याग गरेको हुनुपर्ने जस्ता आधारभूत योग्यता अनिवार्य गरिएको छ।
त्यसैगरी उम्मेदवारले सुशासन, पारदर्शिता, वैचारिक प्रतिबद्धता र पार्टी मूल्य–मान्यताप्रति पूर्ण निष्ठा देखाउनुपर्नेछ। शैक्षिक प्रमाणपत्र, सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
पार्टीले घरेलु हिंसा, साइबर अपराध, सार्वजनिक दुर्व्यवहार, ठगी वा कुनै पनि प्रकारका विवादित आर्थिक तथा कानुनी गतिविधिमा संलग्न व्यक्तिलाई पनि उम्मेदवार बन्न रोक लगाउने प्रस्ताव गरेको छ।


