काठमाडौं, जेठ ३, २०८३ — नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले कानुनअनुसारको मूल्य समायोजन नपाइएको, भुक्तानी रोकिएको र सरकारी निकायबाट अनावश्यक दबाब बढाइएको कारण व्यवसायीहरू ठूलो संकटमा परेको बताएका छन्। उनका अनुसार धेरै ठेक्कामा कानुनी प्रावधान हटाएर सम्झौता गरिएको र अहिले मूल्य समायोजनसमेत लागू नभएकाले व्यवसायी घाटामा काम गर्न बाध्य छन्।
पाण्डेले काम गरे घरखेत गुम्ने अवस्था र काम नगरे कालोसूची तथा बैंक ग्यारेन्टी जफतको डर रहेको भन्दै निर्माण व्यवसायीहरू मानसिक तनावमा रहेको बताए। भुक्तानी नपाउँदा धेरै परियोजना रोकिएको पनि उनले उल्लेख गरे।
महासंघले निर्माण क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र लाखौँ रोजगारी जोडिएको भन्दै समस्या समाधान नभए निर्माण गतिविधि नै ठप्प हुने चेतावनी दिएको छ।


