नेपालगन्ज, १५ वैशाख। नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणद्वारा सञ्चालनमा ल्याइएको यो सेवा विमानस्थलदेखि राँझा चोकसम्म दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउन लक्षित गरिएको हो।
विशेषगरी वृद्ध, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र भारी सामान बोकेर यात्रा गर्ने यात्रुहरूलाई ध्यानमा राखी यो सेवा सुरु गरिएको बताइएको छ।
नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकता दिँदै २५ सिट क्षमता भएको अपाङ्गमैत्री बस सञ्चालन गरिएको बताए। यो सेवा यात्रुहरूका लागि ठूलो राहतको कारण बनेको छ।


