विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद् प्रभावित १३५ घटनाका पीडितलाई ६१ लाख ६० हजार रुपैयाँ राहत वितरण गरेको छ। राहतमा आगलागी, बाढीपहिरो, हावाहुरीलगायतका घटनामा ज्यान गुमाउने र घर क्षति भएका परिवार समेटिएका छन्।
आगलागीका ७० घटनाका पीडित, बाढीपहिरोमा ५४ मृतकका परिवार, हावाहुरी र अन्य घटनाका प्रभावितलाई राहत दिइएको हो। तर चट्याङ, सर्पदंश, वन्यजन्तु आक्रमण र विद्युतीय दुर्घटनाका धेरै पीडित अझै राहतबाट वञ्चित छन्।
प्रदेश प्रहरी र प्रशासनको तथ्यांकबीच तालमेल नहुँदा वास्तविक पीडित पहिचानमा समस्या देखिएको मन्त्रालयले जनाएको छ। केही अवस्थामा मृत्यु विवरण नै फरक ढंगले दर्ता हुने र सिफारिस नआउँदा राहत प्रक्रिया रोकिने समस्या रहेको बताइएको छ।
अधिकारीहरूका अनुसार कतिपय पीडितलाई राहतबारे जानकारी नै नहुँदा पनि आवेदन कम परेको छ। अब राहत वितरण सहज बनाउन बजेट जिल्ला प्रशासन कार्यालयमै पठाउने तयारी गरिएको छ।
प्रदेश सरकारले मनसुनलाई ध्यानमा राख्दै पूर्वतयारी, उद्धार र राहत व्यवस्थापनसम्बन्धी कार्ययोजना पनि स्वीकृत गरेको छ।


